नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक हिसाबले उत्कृष्ट व्यवस्था भएको र यसलाई संरक्षण गर्दै सशक्त बनाउनुको विकल्प नरहेको बताएका छन्।
सोमबार ७४औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका उपलब्धि हासिल गर्न नसकिएको स्वीकार गरे। उनले कतिपय व्यक्तिहरूको कारणले गणतन्त्रमा राम्रो शासन हुन नसकेको भन्दै यसको सफलताका लागि सबैले जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंल्याए।
ज्ञवालीले नेपाली इतिहासले राजतन्त्र र प्रजातन्त्र सँगसँगै अघि बढ्न नसक्ने प्रमाणित गरिसकेको उल्लेख गर्दै भने, “नेपाली जनताले दुईपटक उदारतापूर्वक राजालाई पुनः गद्दीमा राखे पनि राजतन्त्रले प्रजातन्त्रलाई कहिल्यै स्वीकार्न सकेन। राजतन्त्रको नियति नै कुर्सीमा बसेपछि निरंकुश बन्ने हो, त्यसैले हामीले गणतन्त्रलाई अंगालेका हौं। हो, गणतन्त्रले अपेक्षाअनुसार डेलिभरी दिन सकेको छैन, तर यो हरेक दृष्टिकोणले उत्तम व्यवस्था हो।”
उनले क्रान्तिको उपलब्धि जनतालाई सुनिश्चित गर्न सरकारका काम प्रभावकारी बनाउनुपर्ने पनि बताए।





