काठमाडौं : पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा सुधार हुँदै गए पनि सीमित व्यक्तिले फाइदा लिइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा उनले शेयर बजारमा चलखेल गर्नेलाई नियामक निकायले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले साधारण लगानीकर्तालाई संरक्षण गर्न अर्थमन्त्रीले नियामकलाई निर्देशन दिनुपर्ने बताए । ‘इनसाइडर ट्रेडिङ गर्नेहरूलाई कानुनको दायरामा ल्याउनु पर्छ’, उनले भने, ‘बजारको सिस्टम बुझेकाले फाइदा लिने अहिलेको परिपाटीलाई अन्त्य गर्नुपर्छ ।’ त्यसैगरी सांसद महतले लगानीको वातावरणका लागि कानुनले बाधा सिर्जना गरेको बताए। ‘त्यसकारण लगानी आउन सकेको छैन ।
यस्ता कानुन सरकारले संशोधन गरिनुपर्छ,’ सांसद महतले भने– ‘अन्तर्राष्ट्रिय लगानीको प्रतिस्पर्धा ठुलो छ । सबै नेपालमै लगानी गर्न आउँछन् भन्ने छैन त्यसैले सहज वातावरण बनाउनु पर्छ ।’ कन्ट्रिरेटिङको प्रावधानले विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण सिर्जना गरिदिएको उनको भनाइ छ । यसैगरी गाजा र घरेलु मदिराको ब्रार्ण्डिडङ गर्दा राजस्व सङ्कलनमा सुधार हुनका साथै देशमा रोजगारी सिर्जना हुने बताए ।
‘गाजा र घरेलु मदिराको ब्राण्डिङ गर्ने कुरा अहिलेसम्म अड्किएको छ । हाम्रो देशमा सहज उत्पादन गर्न सकिने अवस्था छ तर कानुनी प्रावधान हटाएर छिटोभन्दा छिटो सहज बनाउनु पर्छ,’ उनले भने, ‘यसका लागि कानुनी रूप चाँडै दिन जरुरी छ ।’





