ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

२०८१ मंसिर २७, बिहीबार

काठमाडौं : ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस सेयर वितरण पश्चात कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रूपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रूपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रूपैयाँ पुग्नेछ।साधारण सभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए।

साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उल्लेख गरे।

बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार