
काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उँधौली पर्व मनाउँदै छन् ।
भूमि पूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउँछन्। ललितपुरको सानो हात्ती वन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिक स्थल मानिन्छ । सानो हात्ती वनमा आज पूजाआजासहित किरात चाड विशेष रूपमा मनाइन्छ।
पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किरातले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरूपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रक्रियालाई उँधौली र उँभौली पर्वको रूपमा लिने गरिन्छ।
उँधौलीको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।