काठमाडाैं : राष्ट्रियसभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले गम्भीर विषयबारे जानकारी गराउन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।
मदन भण्डारीको हत्यासम्बन्धी विषयमा ओलीको आवाजको लिंक आएपछि उनलाई जानकारी गराउन फोन गरेको गौतमको भनाइ छ । गौतमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी ओलीले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । ‘ओलीको फोन नउठेपछि राजेशलाई फोन गरेर मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ । यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन,’ गौतमले भनेका छन्, ‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’
शुक्रबार एक सार्वजनिक कार्यक्रममा ओलीले आफूलाई फोन गरेर वामदेवले राजीनामा माग गरेको बताएका थिए । स्वकीय सचिव राजेश बज्राचार्यले उठाएको ठानेर गौतमले आफ्नो राजीनामा माग गरेको ओलीले बताएका थिए ।