धनगढी : अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।
घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो । प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले पनि छानबिन समितिले प्रतिवेदन बुझाउदै चन्दलाई कारबाही गर्न सिफारिस गरेको पुष्टि गरे । अहिले उनी नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत भएका कारण थप कारवाही प्रक्रिया अघि नबढेको कार्कीले बताए ।
‘छानबिन समितिले प्रतिवेदन पेश गरिसकेको छ । अहिले उहाँ उपचारमा भएकाले थप कारबाही प्रक्रिया अघि बढेको छैन,’ एसपी कार्कीले भने, ‘उहाँको पनि बयान लिएर कागज गरिसकेपछि प्रक्रिया अघि बढ्छ होला ।’ अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाएका थिए ।