लाेकतन्त्र, गणतन्त्र र सङ्घीयताबारे पाठ्यक्रममा राखेर पढाउनु पर्छ : सांसद श्रेष्ठ

२०८१ पुष २, मंगलवार

सिन्धुली : बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताकाे विषय पाठ्यक्रममा राखेर विद्यार्थीहरूलाई पढाउनुपर्ने बताएका छन्।

साेमबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित श्री माध्यामिक विद्यालय कर्मीडाँडा, चिसापानीको ४६ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विद्यार्थीहरूलाई पाठ्यक्रममा राखेर लोकतन्त्र, गणतन्त्र र सङ्घीयताका बारेमा पढाउन नसक्दा नयाँ पुस्ताले राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण नगर्ने खतरा बढिरहेको बताए।

उनले विज्ञान, प्रबिधि, सूचना र सञ्चारको अभूतपूर्व विकास सँगसँगै हुर्कँदै गरेको नयाँ पुस्तालाई हेरेर प्रदेश सरकारले हरेक नीति, योजना, कार्यक्रमहरू बनाउनुपर्नेमा जाेड दिए। उनले शिक्षाले ज्ञान, सिप र संस्कृति तीनवटा कुरा एकसाथ सिकाउनु पर्ने बताए।

सांसद श्रेष्ठले अहिलेको शिक्षाले यी तीनवटै कुरा राम्रोसँग सिकाउन नसकेको कारण समाजमा शैक्षिक बेरोजगारहरूको संख्या वर्षैपिच्छे थपिदैँ जाने र रोजगारीको खोजीमा युवाहरू दिनानुदिन बिदेश पलायन हुने समस्या बढिरहेको बताए।

सांसद श्रेष्ठले जीवनोपयोगी गुणस्तरीय शिक्षाको लागि शैक्षिक नीति परिवर्तन गर्नुपर्ने बताए। उनले युगानुकूल विश्वमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण गर्न राज्यले शिक्षामा बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने बताए। उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने कुरा पनि बताए।

सांसद श्रेष्ठले शिक्षामा गुणस्तर वृद्धि गर्न राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए।

उनले भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाको एउटा अंश मात्रै रहेको भन्दै भौतिक पूर्वाधार सँगसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक र अभिभावकलाई अनुरोध गरे।

साथै, प्राबिधिक शिक्षा भन्ने बित्तिकै डाक्टर, इन्जिनियर मात्रै भन्ने बुझाई समाजमा रहेकोे उल्लेख गर्दै उनले प्राबिधिक शिक्षा डाक्टर, इन्जिनियर मात्रै नभएर स्वरोजगार बनाउने शिक्षा नै प्राबिधिक शिक्षा भएको बताए।

उनले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि जाेड दिए। उनले गुणस्तरीय शिक्षाका लागि अहिले अस्तित्व संकटमा रहेका स्कुलहरू मर्ज गर्दै आवासीय शिक्षाको व्यवस्था गर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार