भक्तपुर : भक्तपुरमा बाबुले चक्कु प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन् । गए राति सवा १० बजेतिर भक्तपुर नगरपालिका–२ स्थित सहिद स्मृति खेल मैदान नजिकै सो घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
अछामको कमलनगर नगरपालिका–६ हात्तीबाच घर भइ हाल भक्तपुर बस्दै आएका ६३ वर्षीय दीपबहादुर शाहीले चक्कुले हानेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेका हुन् । घरायसी विवादमा बुवाले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारको लागि राति नै भक्तपुर अस्पताल लगिएको थियो ।
उपचारको क्रममा राति पौने १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ । घटना लगत्तै मृतकका बुबा दिपबहादुरलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी नेउपानेले बताएका छन् ।