काठमाडौँ : पूर्वउपराष्ट्रपति परमानन्द झाले प्रजातान्त्रिक समाज निर्माणमा स्वतन्त्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए । साथै उनिले निष्पक्ष पत्रकारिता हुनुपर्नेमा जोड दिए ।
न्युजलाइन्स मिडियाको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातान्त्रिक मूल्यमान्यतालाई समाजमा स्थापित गर्न स्वतन्त्र पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।
उहाँले जनताको स्वतन्त्रताको रक्षा गरी प्रजातान्त्रिक संस्कृतिलाई संस्थागत गर्नु पत्रकारिताको दायित्व हो भने । सुशासन प्रवद्र्धन तथा दण्डहीनताको अन्त्यका निम्ति सञ्चारजगत्ले पहरेदारको भूमिकाबाट चुक्न नहुनेमा जोड दिए ।
नेपाल–भारत जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले निष्पक्ष पत्रकारिता आजको आवश्यकता भएका बताए । समाजसेवी रामप्रसाद न्यौपाने, पर्यटन व्यवसायी एनके अर्याललगायतले विकासको मूलधारमा नसमेटिएका सर्वसाधारणलाई पत्रकारिताका माध्यमबाट समेटिनुपर्ने विचार व्यक्त गरे ।





