काठमाडौँ : भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार ९० वर्षीय बेनेगलले मुम्बईको वोकहार्ट अस्पतालमा सोमबार साँझ अन्तिम सास लिएका हुन्।
श्याम बेनेगल २ वर्षदेखि मिर्गौलाको गम्भीर रोगबाट पीडित थिए। अंकुर’, ‘निशान्त’, ‘मन्थन’, ‘भूमिका’ र ‘मंडी’जस्ता फिल्म निर्देशन गरेका बेनेगललाई ७०-८० को दशकमा समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिन्छ। उनका फिल्ममा लैंगिक समानता, सामाजिक न्याय र राजनीतिक संघर्षजस्ता विषय थिए। श्याम बेनेगललाई ‘भारत एक खोज’ र ‘संविधान’ निर्माणका लागि पनि स्मरण गरिन्छ।
उनलाई सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषण प्रदान गरिएको थियो। फिल्म निर्देशक बेनेगलले केही दिनअघि डिसेम्बर १४ मा आफ्नो ९०औँ जन्मदिन मनाएका थिए।





