काठमाडौं : मुम्बई हमलाका कथित मास्टरमाइन्ड तथा हाफिज सइदका साला हाफिज अब्दुल रहमान मक्कीको शुक्रबार मृत्यु भएको छ । मक्की प्रतिबन्धित संगठन जमात-उद-दावाका प्रमुख थिए। मक्कीकी भतिजी तल्हा सईदले बीबीसी उर्दूसँग उनको मृत्यु भएको पुष्टि गरेकी छन् ।
मक्की लामो समयदेखि मधुमेहका बिरामी रहेको र हृदयघातका कारण मृत्यु भएको तल्हा सइदले बताए । उनले पञ्जाब (पाकिस्तान) सरकारको आदेशमा मक्कीलाई २०१९ मा पक्राउ गरिएको पनि बताइन् । मक्कीलाई आतङ्कवाद विरोधी अदालतले आतंकवादीलाई आर्थिक सहयोगसम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको थियो।
तर, रिहा भएपछि उनी बिरामी परे र सार्वजनिक जीवनबाट टाढिए । सन् २०२३ मा मक्कीलाई संयुक्त राष्ट्रसंघले विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो । २६ नोभेम्बर २००८ मा, लश्कर-ए-तैयबाका दस चरमपन्थीहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरे। यो आक्रमण चार दिनसम्म चल्यो र १६० भन्दा बढी मानिसले ज्यान गुमाए।





