डाक्टर बनेर उपचार गर्न गएका युवकद्वारा बेहोस बनाएर लुटपाट

२०८१ पुष १२, शुक्रबार

काठमाडौं : आफूलाई चिकित्सकको रूपमा प्रस्तुत गरी ठगी र लुटपाट गर्दै आएका युवक पक्राउ परेका छन् । महोत्तरी जलेश्वर नगरपालिका– २ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका– १७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जालमा डा. आलोक पाण्डेका नाममा आइडी बनाएका थिए । सामाजिक सञ्जालमार्फत नै विभिन्न व्यक्तिसँग चिनजान गरी सुगर रोगीको उपचार गर्छु भन्दै घरमा गएर औषधि खुवाई बेहोस बनाई लुटपाट गरेका हुन् । ललितपुरका एक व्यक्तिको घरमा उपचारका लागि भनेर पुगेका उनले बिरामीलाई औषधिमार्फत बेहोस बनाई सुन तथा चाँदीका गरगहनाहरू र नगद तीन लाख रुपैयाँसमेत चोरी गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए । घटनापछि फरार रहेका मण्डललाई प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका– ४ आरुखर्कबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नगद ५९ हजार ३६० रुपैयाँ र तीनवटा मोबाइल बरामद गरेको छ ।

उनले कतिपय व्यक्तिहरूलाई उपचारको नाममा यौन दुर्व्यवहारसमेत गरेको अनुसन्धानमा खुल्न आएको छ । चिकित्सक बनेर उनले उपचारका नाममा ठगीसमेत गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सामाजिक सञ्जालमार्फत चिनेकै भरमा विश्वास गर्दा यस्ता घटना हुन सक्ने भन्दै प्रहरीले सचेत हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार