काठमाडौँ : चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप भएको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पुस २३ गते चार वर्षे पदावधि पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो। डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएको छ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैछ । यो व्यवस्थाअनुसार उनीहरू अनिवार्य अवकाशमा जान लागेका थिए ।
तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।





