धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी थिएँ तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यो भनेर कुप्रचार गरेको कुरा अबेर साँझ निवासमा पुगेपछि थाहा पाएँ’, भट्टले भने, ‘यो सबै कुरा भ्रम हो ।’
उनले विचार र सिद्धान्तले नसक्नेहरुले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरुले एमाले छोडे भनेर भ्रम फैलाइरहेका छन् । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’, सचिव भट्टले भने ।





