प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे सोध्नुपर्छ : निधि

२०८१ पुष २९, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताबारे प्रष्ट पार्न लगाउनुपर्ने कांग्रेसका सांसद विमलेन्द्र निधिले माग गरेका छन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको चीन र अमेरिका भ्रमणबारे जानकारी गराएपछि सांसद निधिले प्रधानमन्त्री ओली आफै आएर संसद् र संसदीय समितिलाई जानकारी दिनुपर्ने माग गरे ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद निधिले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सत्तारुढ कांग्रेस र एमालेले बीआरआई अन्तर्गत ऋण लिने सम्झौता नगर्ने प्रतिबद्धता ओलीबाट भएको तर त्यसअनुसार काम नभएको भन्दै त्यसबारे संसदीय समितिमा प्रष्ट पार्नुपर्ने बताएका हुन् । सत्तारुढ दलको बैठकमा ऋण नलिने भनी प्रतिबद्धता जनाउने अनि चीन भ्रमणका क्रममा अन्तिममा आफैं अग्रसर भएर सम्झौता गर्नु सही नभएको निधिको भनाइ छ ।

‘भ्रमणमा जानु पहिला कांग्रेस र एमालेको बैठकमा अनुदानबाहेक अरुमा सहमति नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । तर चीन भ्रमणको क्रममा अन्तिम चरणमा प्रधानमन्त्रीकै अग्रसरतामा बीआरआईमा ऋण लिनेगरी सम्झौता भएको छ,’ निधिले भने ‘यसबारेमा प्रधानमन्त्रीलाई संसद र संसदीय समितिमा बोलाएर अमेरिका, चीन भ्रमणको जानकारी प्राप्त गर्न पायौं भने उपयुक्त हुन्छ । भ्रम चिर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार