झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ

२०८१ माघ २, बुधबार

विराटनगर : झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बुधबार बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो।

बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घाइतेको टाउको, ढाड र हातमा चोट लागेको छ।

घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको छ। दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका- ३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, विराटनगर- ४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी, विराटनगरकै आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा रहेका छन्।

घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। तर, सबै घाइते खतरामुक्त छन्। दुर्घटनापछि बसका चालक झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेबाट करिब २ किलोमिटर पश्चिम पर्छ। तीव्र गतिको कारण बस अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार