काठमाडौँ : नेकपा एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् ।
उनले यो अभियानमा काठमाडौँका मेयर बालेन्द्र साह ‘बालेन’लाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा समेत सार्वजनिक गरेका हुन् ।शुक्रबार बिहान धनगढी विमानस्थलमा रावलले पत्रकारहरूको भेटमा सो धारणा सार्वजनिक गरेका हुन् । पूर्वगृहमन्त्री समेत रहेका रावललाई पत्रकारहरूले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । सो जिज्ञासामा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ ।’
रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए । रावल विमानस्थल ओर्लिँदा उनका समर्थकहरूले एमालेको विरोधमा नारा लगाए थिए ।
पत्रकारहरूले रावललाई राजावादीहरूसँगको भेटघाटबारे जिज्ञासा राखेका थिए । उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरूसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिहरूसँग भेटेको र त्यो स्वाभाविक भएको बताए । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएको उनले जानकारी गराएका छन् ।





