काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले प्रेम आचार्यले सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई रास्वपाले कारबाही गर्नुको साटो पुरस्कृत गरिरहेको आरोप लगाएका छन्।
आज (शनिबार) ढकालले अनुशासन आयोगका प्रमुख बनेर पार्टीभित्र भरतमणि देवकोटाले गरेको दूषित राजनीतिको प्रमाण भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो आरोप लगाएका हुन्। उनले लेखेका छन्, ‘टिका ओडारी तिनै पात्र हुन् जसको नाम प्रेम आचार्यले आफ्नो सुसाइड नोटमा लेख्नु भएको छ।’
पार्टीभित्र फरक मत राखेकै आधारमा आफूलाई कारबाहीको सिफारिस गर्ने, फरक मत राखेकै आधारमा राजेश तिमल्सिनालाई कारबाही गर्ने भरतमणि देवकोटाले प्रेम आचार्यले सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई कारबाही नगरेर उल्टै पुरस्कृत गरिरहेको उनको भनाइ छ।
भरतमणि देवकोटाले आफैँले पार्टीभित्र गुटको राजनीतिक खेलेर पार्टीलाई आर्थिक रूपमा च्यापेर पार्टीभित्र हैकमवाद लादिरहेको ढकालले दाबी गरे। उनले भनेका छन्, ‘पार्टीभित्र गुटको राजनीतिक खेल भरतमणि देवकोटाले आफैँ गरिरहेका छन्। अनुशासन आयोगको डन्डा देखाएर दूषित राजनीति गरिरहेका छन्। पार्टीलाई आर्थिक रूपमा च्यापेर पार्टीभित्र हैकमवाद लादिरहेका छन्।’
दुई वर्षअघि आत्मदाह गरेका प्रेम आचार्यको न्यायका लागि आफ्नो तहमा लडेको तर सफल हुन नसकेको र पार्टी सरकारमा गएका बेला उनलाई न्याय दिलाउन पटक-पटक पार्टीका मन्त्रीहरूलाई घच्घचाएको समेत उनले उल्लेख गरेका छन्। ‘रास्वपाप्रति आशा राखेका थिए, प्रेम आचार्यले। प्रेम आचार्य ज्यू, तपाईं जहाँ भए पनि मलाई माफ गरिदिनुहोला, तपाईंको न्यायका लागि लड्न त लडेँ, तर सफल हुन सकिनँ,’ मुकुलले लेखेका छन्।
दुई वर्षअघि संसद् भवन अगाडि पूर्वी नेपालको इलामका व्यवसायी युवा प्रेम आचार्यले आत्मदाह गरेका थिए। आचार्यले आफ्नो सुसाइड नोटमा टिका ओडारीले आफूले कमाएको देख्न नसकेको आरोप लगाएका थिए।






