एमाले र यसको नेतृत्वविरुद्ध भूराजनीतिक खेल भइरहेको छ : शंकर पोखरेल

२०८१ माघ ७, सोमबार

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्ति बन्न नदिन भूराजनीतिक खेल भइरहेको दाबी गरेका छन्।

नेपालमा दुई दलीय प्रणालीबारे लामोसमयदेखि वकालत गर्दै आएका पोखरेलले सोमबार त्यसबारे समाजिक संजालमा लामो स्टाटस लेख्दै यस्तो दाबी गरेका हुन्। उनले लेखेका छन्, ‘अहिले नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धको घेरावन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल हो।’

नेपालमा साना राजनीतिक दल यस्तो खेलको सहयोगी बनेको समेत पोखरेलको आरोप छ। ‘नेपालका साना राजनीतिक दलहरु या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरुका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेका छन् र नेकपा(एमाले)को नेतृत्वमाथि हमला गरिरहेका छन्,’ उनको भनाइ छ, ‘यो प्रवृति हरेक हिसावले जनता र राष्ट्रका लागि घातक छ। समाजवादको यात्रका लागि त झनै बाधक छ।’

त्यस्तै एमालेविरुद्ध साइबर हमला समेत भइरहेको र अब सुरु गर्न लागिएको तीन महिने अभियानबाट त्यसलाई चिर्ने कोसिस हुने पोखरेलको भनाइ छ। ‘यतिबेला नेकपा(एमाले) विरुद्ध संचालित साइबर हमला भइरहेको छ,’ उनले लेखेका छन्, ‘त्यसको उद्देश्य नेकपा (एमाले)लाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो। ‘मिस इन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’को वाढी त्यसै उद्देश्यतर्फ लक्षित देखिन्छ। नेकपा (एमाले) को तीन महिने जराकेन्द्रित अभियानका माध्यमबाट त्यसलाई परास्त गर्दै मुलुकमा लोकतन्त्रको सहज अभ्यासको वातावरण सिर्जना गर्न अग्रसर छ र हुनु पर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार