राम्रो काम गर्दागर्दै संख्याका बलमा मलाई सरकारबाट हटाइयो : प्रचण्ड

२०८१ माघ ७, सोमबार

गोरखा : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै संख्याको बलमा बाहिरिन बाध्य पारिएको बताएका छन् ।

आज गोरखा नगरपालिका–८ स्थित सरस्वती माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन कायम गर्न, सामाजिक न्यायका क्षेत्रमा र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उज्यालो बनाउने काम गोरखा–२ मतदाताको भावना र अभिमतको बलमा भएको बताए ।

‘सिङ्गो राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा पनि गोरखाको जनप्रतिनिधिको हैसियतले गर्न सक्ने जति राम्रो काम गर्ने जमर्को गरें,’ उनले भने, ‘यही राम्रो काम गर्नु बिचौलिया, दलाल र बुर्जुवा सोच भएका अराजकतावादीलाई सह्य भएन, तथाकथित संख्याको बलमा मैले राम्रो काम गर्दागर्दै बाहिरन बाध्य पारियो ।’

आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि नयाँ संकल्पसहित अघि बढ्ने जमर्को गरेको उनले बताए । ‘नेपालको इतिहासमा सुशासनको पक्ष तथा बेथिति र भ्रष्टचारविरुद्ध यति ठूलो अभियान पहिलोचोटी चल्यो, राजनीतिक पार्टी, कर्मचारीतन्त्रका बडा-बडा हाकिमहरू, भूमाफिया, दलाल, बिचौलिया कोही बच्ने स्थिति थिएन, एकपछि अर्को सुशासनको अभियानका क्रममा कारबाहीमा परें ।’

त्यस्तै प्रचण्डले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् । विकास र समृद्धि, अनुशासन, स्थिरताको आधार शिक्षा क्षेत्रले तय गर्ने उनले बताए । विकसित देशले पनि विकासका लागि शिक्षा क्षेत्रमा ठूलो लगानी गर्ने गरेको उनले बताए । ‘विकसित देश र विकसित देशका नेताको पनि प्राथमिकता शिक्षा क्षेत्रमा पर्छ, देश विकासको आधार शिक्षा क्षेत्र नै हो,’ उनले भने । वर्षौंदेखि रोकिएको शिक्षा विधेयक अघि बढेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार