काठमाडौँ : सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १:०० बजेका लागि संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्को आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रबार बोलाउने निर्णय भयो ।’’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रबार सदन बोलाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘‘माघ १८ गते सदन बोलाइएको छ । प्रतिपक्षहरूले दिनदिनै कहिलेदेखि कहिलेदेखि भन्ने गर्दथे । अब माघको १८ गते संसद् बोलाइएको छ ।’’
मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूले कहिलेबाट संसद् बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताए ।








