काठमाडौं : वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ की ४० वर्षीया लालीमाया दर्लामी छिन्।
क्रोएसिया पठाइदिने भन्दै एक व्यक्तिबाट पाँच लाख ७५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उनीमाथि आरोप छ। शुक्रबार (हिजो) उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दर्लामीलाई पक्राउ गरेको हो। आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको उक्त कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।





