यो सरकार आगामी निर्वाचनसम्म रहन्छ : सञ्चारमन्त्री गुरुङ

२०८१ माघ १२, शनिबार

लमजुङ : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले चल्ने बताएका छन्।

सरकार ढल्छ भनेर विपक्षी दलबाट चलाइएको हल्ला निराधार भएको मन्त्री गुरुङले सो कुरा बताएका हुन् । शनिबार गृहजिल्ला लमजुङको दोर्दी –६, कृर्तीपुरस्थित भगवान आधारभूत विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले आफ्ना कार्यकर्तालाई भुलाउन विपक्षी दलले सरकार ढल्ने हल्ला चलाएको बताए ।

“साना पार्टीले हल्ला चलाउँदैमा सरकार ढल्नेवाला छैन । तत्काल केही हुनेवाला छैन । प्रतिपक्षमा बसेका दलका नेताहरूले चलाएको हल्ला मात्र हो” मन्त्री गुरुङले भने, “जबसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच समझदारी भइरहन्छ, तबसम्म कसैले पनि केही गर्न सक्दैन ।”

उनले मुलुकमा अस्थिरता चाहने शक्तिले पनि सरकारबारे नकारात्मक हल्ला चलाएको बताए । विगतदेखि नै मुलुकमा सङ्कट पर्दा कांग्रेस र एमाले मिलेर पार लगाएको इतिहास रहेको मन्त्री गुरुङले बताए । २०४६ सालदेखि आजसम्मको परिवर्तन आउनुमा कांग्रेस एमाले मिलेर नै सम्भव भएको उनले बताए । अहिले पनि मुलुक सङ्कटकै अवस्थामा रहेकाले दुई ठुला दलहरू मिलेर सरकार बनाउनुपरेको उनले प्रष्ट पारे ।

“२०७७ सालमा जब केपी शर्मा ओलीको सरकार ढल्यो । त्यसपछि मुलुकमा जुन खालको अस्थिर खेलमा राजनीतिक दलहरू लागे, मुलुकको दुर्भाग्य त्यही दिनबाट सुरु भयो” उनले भने, “त्यही दुर्भाग्यले गर्दा अहिले पनि मुलुकको शासकीय अवस्था कमजोर बनिरहेको छ । साढे १८ खर्ब बजेटमा तीन खर्ब विकास बजेट पनि खर्च हुन नसक्ने अवस्था छ । त्यसलाई सुधार गर्नका लागि, शासन प्रणालीमा सुधार गर्न यो सरकार बनेको हो ।”

उनले अबका दिनमा शासकीय क्षेत्रमा व्यापक सुधार आवश्यक छ भन्ने कुरा छ महिनाभित्र सरकारले महसुस गरेको बताए । उनले सरकारले ल्याएको नयाँ विधेयकले पुराना नीति तथा ऐनहरू परिवर्तन भएकाले अबका दिनमा शासकीय प्रणालीमा व्यापक सुधार आउने दाबी गरे ।

“विभिन्न १३ वटा पुराना कानुनलाई सुधार गर्दै नयाँ अध्यादेश ल्याएका छौं” उनले भने, “यो अध्यादेश भए पनि शासकीय प्रणालीमा सुधार हुन्छ । सुशासन कायम हुन्छ । उद्योग व्यवसाय र अर्थतन्त्रमा देखिएको समस्यामा सुधार हुँदै जान्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार