कांग्रेससँग मिलेर चुनाव लड्ने अनि अहिले दलाल सरकार भन्ने ? : वामदेव

२०८१ माघ १२, शनिबार

काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माणको अभियान तत्काल सुरू गर्न आह्वान गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो कार्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

गौतमले भने, ‘पुष्पलाललाई स्मरण गर्ने हो भने अहिले नै समाजवाद निर्माणमा लाग्नुपर्छ। एकदेव आलेलाई सम्झिने हो भने पनि तुरुन्तै समाजवादको कार्यमा जुट्नुपर्छ। तर, केवल जब्रो पड्काएर, जिब्रो फड्कारेर, दिनभर आलोचना गरेरमात्र केही हुनेवाला छैन। तपाईं तयार हुनुहुन्छ कि छैन समाजवाद निर्माणका लागि ?’

उनले सरकारमाथि गरिने आलोचनाबारे पनि टिप्पणी गरे। नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का नेताहरूले सरकारलाई दलाल भन्दै गरेको आलोचना दुःखद् रहेको उनको भनाइ थियो।

गौतमले भने, ‘कांग्रेससँग मिलेर चुनाव लड्ने, सरकार बनाउने, फेरि मिल्न कोशिस गर्ने, अनि सरकार दलाल हो भनेर आलोचना गर्ने यो कस्तो व्यवहार हो ? यदि तपाईं सरकारमा भएको भए के फरक हुन्थ्यो ? कांग्रेस र कम्युनिस्टलाई एउटै प्लेटफर्ममा ल्याएर फेरि आलोचना गर्नुको अर्थ छैन।’

उनले कम्युनिष्ट दलहरूको भूमिकालाई सम्झाउँदै अब समाजवादको अभियानमा एकजुट हुन आवश्यक रहेको उल्लेख गरे। ‘यदि कम्युनिस्ट हौं भने अब आलोचना गरेर मात्र हुँदैन, समाजवाद निर्माणको ठोस योजना अघि सार्नुपर्छ,’ गौतमले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार