काठमाडौँ : सिन्धुलीको सुनकोसी नदीमा खसेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ। तर, यात्रु भने नभेटएिका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक नदीमा बेपत्ता भएको आशंका गरिएको छ। बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका ७ बाट ज १० प २६०४ नम्बरको मोटरसाइकल सुनकोसी नदीमा खसेको अवस्थामा फेला परेको हो।
नदीमा डुबेको अवस्थामा आज बिहान मोटरसाइकल र झोला फेला परे पनि त्यसमा सवार यात्रुलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए। मोटरसाइकलकसँगै फेला परेको झोलामा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ ठेगाना भएका युवकको ब्लुबुक पनि फेला परेको छ।
‘झोलासँगैको ब्लुबुक र मोटरसाइकलको नदीबाट निकालेका छौँ,’ इन्सपेक्टर चौरसियाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ ब्लुबुकमा उल्लेख नाम भने प्रहरीले खुलाएको छैन।
दुर्घटना गएराति नै भएको अनुमान प्रहरीले गरेको छ। खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले भने घटनाबारे आइतबार बिहान ८ बजे मात्रै जानकारी पाएको जनाएको छ।नदीमा बेपत्ता यात्रुको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको इन्सपेक्टर चौरसियाले बताए।





