काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १४.१२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १७.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी गत आवमा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७९ लाख ८७ हजार, लगानी तथा कर्जा आम्दानी ६६ करोड ८८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
पुष मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेर १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको रिटेन्ड अर्निङमा १३ करोड ८२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १०.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.२३ रुपैयाँ रहेको छ।





