काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक लगाएर राखिएका कतिपय काम ‘थ्रु’ गरेर गती प्रदान गरिरहेको बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। उनले आफनो कार्यकालभित्रै सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको, काठमाडौं–तराई द्रूत मार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको स्मरण गरे।
उनले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई ‘थ्रु’ गरेको गति दिएको बताएका हुन्।
‘चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिनअघि मात्रै ब्रेक–थ्रु भएको छ। ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रूत गतिमा अघि बढिरहेको छ,’ उनले भने।
सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको प्रधानमन्त्रीको दाबी छ। खेल हाम्रा युवाहरूको जीवनशैली बनेको र यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने तथा त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे।
‘त्यसका लागि टेण्डर आह्वान भएको छ। तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ,’ उनले भने, ‘रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ। देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो। विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं।’





