काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चर्चामा रहेका ठूला भ्रष्टाचारका काण्डको छानबिनका लागि संसदीय छानबिन समिति गठनको मागलाई जोडदार उठाउने बताएको छ । उनले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेर ८४ दिन थुनेको भन्दै आपत्ति जनाए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले राजकीय पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने माग निरन्तर गर्ने बताएका हुन् । ‘नेपालको जाँचबुझ ऐन अनुसार पूर्वप्रधानन्यायाधीशको संयोजकत्वका राजकीय पद धारण गरेका नेताको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने मागलाई चिरस्थायी बनाउँछौं,’ वाग्लेले भने, ‘चलनचल्तीमा आएका सबै काण्डको एक/एक गरेर संसदीय छानबिन समिति माग्छौं । भुटानी शरणार्थीदेखि कम्बोडिया काण्ड, वाइडबडीदेखि एनसेल, बालुवाटारदेखि गिरिबन्धुसम्म छिनोफानो गर्नुपर्ने हुन्छ ।’
सहकारी बचत छानबिन संसदीय समितिले सहकारीको पैसा गोरखा मिडियामा ल्याउनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता नरहेको भन्दा भन्दै ५ जिल्लामा घुमाएर ह्यारेसमेन्ट गर्न खोजिएको आरोप वाग्लेले लगाए । वाग्लेले सरकारको ७ महिना देश र जनताको हितमा काम गर्नुपर्ने भन्दा पनि अन्य दललाई सिध्याउन केन्द्रित भएको आरोप लगाए ।





