काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ ।
प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध मुद्दा दायर भएको हो ।
प्रतिवादीमध्ये जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेका समेत खुलेको छ । जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका छन् ।