काठमाडौं : संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुने छ। आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने छन्।
साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने छन्। संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० पेश गर्ने’ कार्यसूची रहेको छ।
यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्ने छन्। आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ। आज दिउँसो १:१५ बजेका लागि बैठक बोलाइएको छ।





