काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महसुस गरेको बताएकी छन्। शुक्रबार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताइन्। माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ।
‘अहिले अनुकुल समय पनि छ। सरकार पनि स्थायी भएर चलिरहेको छ। नत्र यहाँ त हामीलाई समस्या, तीन-तीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो पाइला नै अगाडि नसर्ने परिस्थिति थियो, अहिले दुई वटा ठूला राजनीतिक दलहरू मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ,’ उनले भनिन्, ‘मेरो त उहाँहरूलाई शुभकामना छ । अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ।’
देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ। देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको उनले बताइन्। रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको उनको भनाइ छ। उनले शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने बताइन्।
‘शिक्षा क्षेत्र बरालिएको हो की भन्ने अनुभव मैले गरेको छु। जसरी शिक्षा एउटा राष्ट्र निर्माणको मुल खम्बा भएर त्यसबाट राज्यका विभिन्न अंगहरू बलियो भएर र भावी पुस्तालाई जस्तो खालको हामीले योगदान दिनुपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भनिन्, ‘अहिले हाइ स्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरूले देखाइरहेको छ। हिजो जुन आवश्यकताले हाइस्कुलहरू वा स्कुलहरू गाउँमा खोलेका थियौँ, अहिले तिनीहरू शुन्य शुन्य जस्तो छ।’









