काठमाडौं : नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका ११ जना नेताले महामन्त्री गगन थापा हाबी हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीले आधिकारिक रूपमा १५ औं महाधिवेशनको तयारी अगाडि बढाएको छैन । तर, महामन्त्री थापाले महाधिवेशन केन्द्रित अभियान अगाडि बढाउँदा पनि किन चुप लागेको भन्दै देउवापक्षीय नेताहरूले उनीमाथि प्रश्न उठाएका हुन् । सभापति देउवाको विश्वास जित्दै थापाले आगामी महाधिवेशन केन्द्रित अभियान अगाडि बढाएको आशंका गर्दै देउवा निकटका ११ नेता शुक्रबार बिहान बूढानीलकण्ठ पुगे ।
जसमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा.शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी थिए ।





