काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेस र नेकपा एमालेले मात्र चाहँदैमा संविधान संशोधन सहज रूपमा सम्भव नहुने बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधनका स्पष्ट बुँदाहरू अझै बाहिर नआइसकेको उल्लेख गरे।
उनले संविधानप्रति देखिएका असन्तुष्टिहरू अहिले आएर व्यक्त भइरहेको बताए। ‘अब नेपाली कांग्रेस र एमालेलाई लागेको छ— दुई तिहाइ पुग्छ भने संविधान संशोधन गरौँ। तर त्यसका लागि गहन गृहकार्य आवश्यक छ,’ उनले भने।
सांसद पन्तका अनुसार नेपालमा अहिलेसम्म बनेका कुनै पनि संविधान संशोधनविना टिक्न सकेका छैनन्। ‘संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ। समयअनुसार परिवर्तन अपरिहार्य हुन्छ, संविधान पनि अपवाद होइन,’ उनले थपे।
उनले सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट पारित गराउने क्रममा जटिलता देखिएको उल्लेख गरे। ‘राष्ट्रिय सभाको संरचनाका कारण केही अध्यादेश पारित हुने, केही नहुने स्थिति सिर्जना भएको छ। त्यसैले, संविधान संशोधनको विषयमा सर्वसम्मत छलफल जरुरी छ,’ उनले स्पष्ट पारे। सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको धारणा व्यक्त गरे।





