काठमाडौं : पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
शनिबार आयोजित कार्यक्रममा रिमोटबाट दीप प्रज्वलन गरेपछि उडाइएका बेलुनमा आगोले छोएर पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मेयर आचार्य घाइते भएका थिए।
मेयर आचार्यलाई पोखरास्थित फिस्टेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिएका छन्। उनको अनुहार र गालामा चोट लागेको छ।
यसअघि अर्थमन्त्री पौडेललाई पनि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गरेपछि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। पौडेलको दुवै हात, अनुहार र घाँटीमा चोट लागेको छ।





