हेटौंडा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध नहुने बताएका छन् । शनिबार मकवानपुरको वाग्मती गाउँपालिकास्थित शहीद स्मृति रंगशालामा सातौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले जबसम्म मुलुकका भ्रष्टाचारीहरुलाई कानुनी कठघरामा उभ्याउन सकिँदैन तबसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचारीहरु जहाँ जुन अवस्थामा छन् तिनीहरुलाई जनताकै बलले ठेगान लगाउनु पर्छ।’ उनले सुशासनको पक्षमा र भ्रष्टाचारीहरुको विरुद्धमा माओवादीले सञ्चालन गरेको अभियानमा सबै जोडिन आग्रह गरे । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी तपाईंहरूले योजना र कार्यक्रम बनाएर अघि बढ्नुस् ।’ पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
उनले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न सबैलाई निर्देशन दिए। माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताए । उनले आजै मकवानपुरका सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।





