काठमाडौं : भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा भएको घटनाको विरोधमा अनेरास्ववियुले काठमाडौंस्थित भारतीय दूतावास पुगेर विरोध प्रदर्शन गरेको छ।
बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि आक्रोशित विद्यार्थीले भारतमा आन्दोलन गरेका थिए। क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न निर्देशन जारीसमेत गरेको छ।
उक्त घटनाको भर्त्सना गर्दै अनेरास्ववियुले कूटनीतिक पहलमार्फत घटनाको छानबिन गर्न र नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्दै अध्ययनको वातावरण बनाउन नेपाल सरकारसँग माग गरेको छ।





