काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली मंगलबार हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटमा भाग लिन दाङ आएका हुन् । उनले सोमबारै लुम्बिनी प्रदेशसभामा सम्बोधनसमेत गरे ।
एमाले सभामा ओलीले मुख्यतः दुई विषयलाई महत्वका साथ उठाए । पहिलो, पार्टी महासचिव पोखरेलको पक्षमा राजनीतिक माहोल बनाउनमा उनको जोड रह्यो । आमचुनाव सकिएको २७ महिनापछि ओलीले आफ्ना महासचिवलाई हराएकोप्रति दंगाली मतदातासँग गुनासो गरे । ‘शंकर पोखरेलले चुनाव जित्दा देशको विकास गर्न धेरै सहज हुने थियो । मलाई सजिलो हुने थियो । यसमा तपाईंहरूले गल्ती गर्नुभयो’, ओलीले भने ।
४ मंसिर २०७९ को आमचुनावमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पोखरेल माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग १९३ मतको अन्तरले पराजित भएका थिए । २६ हजार ८ सय ८० मत ल्याएर विजयी शर्मालाई कांग्रेससहित तत्कालीन सत्ता गठबन्धनको साथ थियो । एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए ।
उनको पराजयको अर्को कारण, रास्वपाले ल्याएको अस्वाभाविक मतलाई मानिएको छ । दाङ–२ मा रास्वपाबाट उठेका विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याएका थिए । एमाले अध्यक्ष ओलीले अघिल्लो चुनावबाट पाठ सिकेर मिसन ०८४ लाई केन्द्रित गरेर अघि बढ्न नेता–कार्यकर्तालाई आह्वान गरे ।





