काठमाडौं : नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित भई पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन् । पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।
शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए । गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।





