काठमाडौँ : सोमबार राति निर्देशक निश्चल बस्नेतले फेसबुकमा एक पोस्ट राखे। जसमा उनले ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ पोस्टर सेयर गर्दै अग्रिम बधाई दिए।
‘बुकिङ खुल्यो है। दुवै रमाइलो होलाजस्तो छ। तपाईंहरू पहिला कुन हेर्ने?’ उनले लेखे। तर, भोलिबाटै रिलिज हुने अर्को फिल्म ‘मायावी’को पोस्टर नराखेपछि निश्चलप्रति फ्यानहरू आक्रोशित छन्।
निश्चलले पल शाह र दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’लाई पक्षपात गरेको भन्दै फ्यानहरू रिसाइरहेका छन्। ‘मायावीलाई पक्षपात गर्नु नै तपाईंले आफ्नो असली परिचय दिनु हो। मै ठूलो भन्ने घमण्ड छोड्नुहोस्’, सामाजिक प्रयोगकर्ताले लेखेका छन्।
त्यस्तै अर्को प्रयोगकर्ता लेख्छन्, ‘मायावी फिल्म पनि आजै लाग्ने हैन र बस्नेत जी? यसरी पक्षपात गरेर कसरी चल्छ फिल्म उद्योग? स्वार्थीहरूको झुन्ड। सबैले सबैलाइ सपोर्ट साथ दिन सिक। घमण्डको बेलुन धेरै टिक्दैन रे। सबै फिल्मलाई शुभकामना सबै फिल्म हिट हुनुपर्छ।’









