नवलपरासी : पश्चिम नवलपरासी पालिनन्दन गाउँपालिका–३ मा आज भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका बेला गाडीले किचेर घाइते विजय धवलको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनलाई अस्पतालले सवा ५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । मंगलबार दिनभर उक्त स्थानमा दुई समूहबीच झडप भएको थियो । स्थानीय युवक र युवतीको प्रेम सम्बन्धको विषयमा दुई समूहबीच केही समय पहिलेदेखि बढेको विवादले आज उग्ररुप लिएको हो ।
झडप नियन्त्रण लिन पुगेको प्रहरीको गाडी नै स्थानीयले जलाइदिएका छन् । यस्तै एउटा गोदाममा समेत आगजनी गरेका छन् । त्यसक्रममा ११ जना नेपाल प्रहरी, ६ जना सशस्त्र प्रहरी र ६ जना स्थानीय घाइते भएका छन् । स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले अश्रुग्यास र हवाई फायर गरेको थियो ।
सशस्त्र प्रहरीले एसएलआरबााट १ राउण्ड हवाई फायर र ६ सेल अश्रुग्यास फायर भएको जनाएको छ ।





