काठमाडौं : सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका अर्का सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।
महतलाई पोखरा महानगरपालिका लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गत तालिम केन्द्रमा मृत फेला पारिएको थियो । उनको मृत्युपछि परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा सशस्त्र प्रहरी बल २३ नम्बर मनकामना गण भानु तनहुँमा दरबन्दी भइ कास्कीमा कार्यरत सुदुरपश्चिम घर भएका जोशीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा किटानी जाहेरी दिएका थिए ।
परिवारको किटानी जाहेरीपछि कास्की प्रहरीले उजुरी दर्ता गरी सोमबार जोशीविरुद्ध जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि जोशीलाई सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर बुझाएको थियो ।
कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार घटनाको अनुसन्धानका लागि जोशीलाई थप सात दिन हिरासतमा राख्न मंगलबार अदालतबाट अनुमति पाएको हो ।





