काठमाडौं : मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा सोमबार बिहान विवाहित युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा खोला किनारको एउटा रुखमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । मृत अवस्था भेटिएका दुवै विवाहित भए पनि उनीहरु श्रीमान्–श्रीमती नभएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
घटनास्थल अजयको घरदेखि करिब १ किलोमिटर दक्षिणमा पर्छ भने मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ ।
अजयको पत्नीका साथै ४ र २ वर्षका छोरा घरमा छन् भने जुबामुनीको डेढ वर्षको छोरा छन् ।





