बाइडेनले चार वर्षमा नगरेको काम मैले ४३ दिनमै गरें : डोनाल्ड ट्रम्प

२०८१ फाल्गुन २१, बुधबार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो सरकारले ४ वर्षमा नगरेको काम आफूले ४३ दिनमै गरेको दाबी गरेका छन् ।

अमेरिकी संसद् (कांग्रेस)को संयुक्त बैठकलाई सम्बोधन गर्दै ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिए । ‘अमेरिका इज ब्याक’बाट भाषण शुरू गरेका उनले बाइडेनको निर्णयका कारण लाखौं आप्रवासीले अमेरिका प्रवेश गर्ने अवसर पाएको बताए ।

‘मेरो सबैभन्दा ठूलो प्राथमिकता अमेरिकी अर्थतन्त्रलाई बचाउनु हो । हामीले आर्थिक विनाश र मुद्रास्फीतिको दुःस्वप्न बाइडेन प्रशासनबाट विरासतमा पाएका छौं । बाइडेनको नीतिहरूले ऊर्जाको मूल्य बढाएको छ, सामानहरू महँगो बनाएको छ र लाखौं अमेरिकीहरूको पहुँचबाट बाहिर राखेको छ, म यो क्षतिलाई उल्टाउन र अमेरिकालाई फेरि सस्तो बनाउन लडिरहेको छु,’ उनले भने ।

ट्रम्पले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याउने दाबी गरे । ‘हामीले सरकारी सेन्सरशिप पूर्ण रूपमा बन्द गरेका छौं र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याएका छौं,’ उनले भने, ‘मैले पदभार ग्रहण गर्नेवित्तिकै सबै संघीय भर्ती, नयाँ संघीय नीति र विदेशी सहायतामा तत्काल प्रतिबन्ध लगाएको छु । मैले अमेरिकालाई ‘बेकार’ पेरिस जलवायु सम्झौता, भ्रष्ट विश्व स्वास्थ्य संगठन र अमेरिका विरोधी मानव अधिकार आयोगबाट बाहिर निकालें। मैले बाइडेनको वातावरणीय नीतिहरू समाप्त गरें, जसले देशको सुरक्षामा कमी ल्याउने र मुद्रास्फीति बढाएको थियो। हामीले अघिल्लो सरकारको इलेक्ट्रिक वाहन नियमहरू हटायौं।’

ट्रम्पले दक्षिणी सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेको स्मरण गरे । ‘जो बाइडेन अमेरिकी इतिहासका सबैभन्दा खराब राष्ट्रपति थिए। उनको कार्यकालमा हरेक महिना लाखौं गैरकानुनी मानिस अमेरिका प्रवेश गरेका थिए,’ ट्रम्पले भने,‘मैले ६ हप्ताअघि पदभार ग्रहण गरेदेखि अहिलेसम्म करिब १०० कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु र ४०० भन्दा बढी कार्यकारी कदम चालेको छु । हाम्रो ४३ दिने सरकार देशको इतिहासमा सबैभन्दा सफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार