काठमाडौँ : अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौँ आइपुगेका छन् ।
उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् ।
अध्यागमन कार्यालयका एकजना अधिकृतले भने, ‘हत्कडी र चेन खोलेर अमेरिकन प्रहरीले यहाँ जिम्मा लगाएर फर्केका छन् ।’ डिपोर्ट भएकाहरूले पनि आफूहरूलाई जहाजमा समेत हत्कडी र चेन लगाएको बताएका छन् । डिपोर्ट हुनेमध्ये एकजना महिलाचाहिँ व्यावसायिक उडान मार्फत काठमाडौँ आइपुगेकी छन् । डोटी घर भएर अमेरिका गएकी बिनिता व्यावसायिक उडानमार्फत काठमाडौँ आएकी हुन् ।





