प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउनका लागि आएको बताएका छन्।
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा बिहीबार नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गरे। साथै, सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए। उनले भने, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन। मुलुकमा अब राजतन्त्र फर्किँदै, राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ। सबै संविधान अनुसार चल्नुपर्छ।’ उनले भने।
मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको प्रधानमन्त्रीको भनाइ थियो। उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्रीले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए। उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन्।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए। उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने सुनाए।
आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।





