काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक व्यवस्था नै उत्तम विकल्प भएको बताएका छन्। शुक्रबार कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘मुख्य कुरा देशलाई हाँक्ने, देशका नीतिहरू मध्य मूल नीति भनेको राजनीति हो। राजनीति अहिले हामीले ठीक राजनीति ल्याएका छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र।’ लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था जनतालाई अधिकारसम्पन्न गराउँदै विकासलाई गति दिनका लागि सही भएको उनको तर्क थियो।
उनले थपे, ‘कोही राजा हुने कोही रैती हुने कोही संविधानमाथि हुने कोही संविधान तल पनि बस्न नपाउने पैतलामुनि पर्नुपर्ने, सम्बोधन गर्दा त्यसैगरी गर्नुपर्नेजस्ता सबै त्यस्ता कुराहरू हामीले अन्त्य गरेका छौँ। जो विश्वले अन्त्य गरेको छ, अन्त्य गर्दै गएको छ।’ अहिलेको व्यवस्था कुनै व्यक्ति वा परिवारको सर्वोच्चता नभई नागरिक सर्वोच्चता भएको उनको तर्क छ।
उनले भने, ‘गणतन्त्र भनेको नागरिक स्वाभिमान, सार्वभौमसत्ता, सर्वोच्चता, जनताबाट शक्ति पैदा हुने कुरा। जनताले शासन सञ्चालनको निर्णय गर्ने कुरा। यो हामीले स्थापना गरेका छौँ। यसको प्रणाली मात्रै होइन, प्रक्रिया पनि निर्धारण गरेका छौँ।’ सो अवसरमा उनले संविधान संसोधन आवश्यकता र औचित्यका आधारमा हुने कुरा पनि दोहोर्याएका छन्।





