राजा भोटको राजनीति भन्दा धेरै माथि छन् : राजेन्द्र लिङदेन

२०८१ फाल्गुन २४, शनिबार

पर्सा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन् ।

आज वीरगञ्जको लालबगलामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएको उल्लेख गरे ।

उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौति दिँदै आएका छन् ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको जवाफ फर्काएका हुन् । राजाले खोलेका उद्योग धन्दाहरू बेचेको आरोप लगाउँदै उनले भने, ‘कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौं भ्रष्टाचार कुण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई ललकार्दै छन् । राजा चुनाव लड्न आउ भनेर। म भन्छु, तपाईंहरूसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो।’

अध्यक्ष लिङदेनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको आरोप लगाए । सो अवसरमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजीसहितका एजेण्डा आफ्नो पार्टीसँग भएको भनेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् । राप्रपाले आज पर्सामा आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन् ।

मुलुकभरबाट संकलन भएको राजस्वले राष्ट्र सेवक कर्मचारीलाई तलब भत्ताको व्यवस्था गर्न नसक्ने परिस्थिति सिर्जना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए । एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण रु सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार