काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारसमक्ष सफाइ पेस गरेका छन्।
बक्यौता नउठाएको भन्दै गत बुधबारकाे मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सरकारले कुलमानलाई तीन दिनको समय दिएर चारबुँदे स्पष्टीकरण सोधेको थियो। आइतबार सफाइ पेस गर्दै कुलमानले ऊर्जा मन्त्रालयसँग भएको सम्झौतापत्रमा कार्यसम्पादन प्रतिवेदन पेस गर्नुपर्ने म्याद नतोकिएको स्पष्ट पारेका छन्।
‘सम्झौतापत्रमा कार्यसम्पादन प्रतिवेदन पेस गर्नुपर्ने समयावधि उल्लेख छैन। यद्यपि, कार्यालयको कार्यव्यस्तता, संस्थागत हितको निम्ति अहोरात्र खटिनुपरेको कारणले भाद्र मसान्तभित्र पेस गर्न नसकिएको अवस्थामा मन्त्रालयमा अनुरोध गरी सोभन्दा पछाडि बुझाउँदै आएको र मूल्यांकन हुँदै आएको छ,’ स्पष्टीकरणमा भनिएको छ।
आ.व ०७८/७९ र ०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ अंक प्राप्त गरेको उल्लेख गर्दै उनले आ.व ०८०/८१ मा ९८.९९ अंक प्राप्त हुने वस्तुगत अवस्थासहित कार्यसम्पादन प्रतिवेदन पेस गरेको समेत प्रस्ट पारेका छन्। मन्त्रालय र आफूबिच भएको कार्यसम्पादन सम्झौताअनुसार सम्झौता भएका विषयमा सन्तुष्ट नभएमा बैठकमा उपस्थित हुन सूचना दिई स्पष्टीकरणको अवसर दिनुपर्ने सर्तसमेत उनले सरकारलाई स्मरण गराएका छन्।
कुलमानले भनेका छन्, ‘मलाई आव ०८०/८१ को कार्यसम्पादन मूल्यांकन सम्बन्धमा बैठकमा उपस्थित भई आफ्नो भनाइ राख्ने अवसर दिइएको छैन। साथै, सम्झौतापत्रको प्रकरण नं ९.६ मा कार्यसम्पादन मूल्यांकनको प्राप्तांकका साथै मूल्यांकनको विस्तृत विवरण र पृष्ठपोषण मलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था छ। सो व्यवस्थाबमोजिम मलाई हालसम्म मूल्यांकनको अवस्था, नतिजा विवरण एवं पृष्ठपोषणसमेत उपलब्ध गराइएको छैन।’





