काठमाडौँ : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अफट्यारो स्थिति रहेको बताएका छन्। सोमबारबाट संघीय राजधानीमा शुरु भएको रोजगार मेलालाई सम्बोधन उहाँले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार भएकै कारण वैदेशिक रोजगारको तत्कलै अन्त्य गर्न कठिन रहेको बताएका हुन्।
उनले भने, ‘युवा श्रम शक्तिको श्रम बजारमा प्रवेश उल्लेख्य छ । १५–१९ वर्षका व्यक्तिहरु अहिले हामीले हेरियो भने करिब ३० लाख मान्छेहरु छन् । ती मान्छेहरु मध्ये कम्तिमा १९ वर्ष पुगेर २० औँ वर्षमा श्रम बजारमा प्रवेश गर्छन् भन्यो भने कम्तिमा ६ लाख व्यक्तिहरु श्रमबजारमा प्रवेश गर्छन् । अहिले ६०–६४ वर्ष उमेरको जनसंख्या १० लाख जति छ । ति मध्ये वर्षमा २ लाख मान्छे श्रम बजारमा निस्कन्छन् भनेर अनुमान गर्न सकिन्छ । यदि त्यसो हो भने ४ लाख मान्छेहरु वर्सेनी श्रम बजारमा थपिन्छन् । अब ४ लाखलाई रोजगारी दिन त हामी सक्छौं । हामीसँग पूर्ण बेरोजगार कम छ, अर्ध बेरोजगारहरु बढी छन् ।
अर्ध बेरोजगारी कृषिमा जस्तै अनौपचारिक क्षेत्रमा छ । अहिलेकै बेरोजगारहरुको अवस्था ४ लाख भन्दा धेरै गुणा माथि छ । हामीले अहिलेको आर्थिक वृद्धिबाट अहिले श्रम बजारमा प्रवेश गर्नेहरुलाई रोजगारी दिन्छौं, कामको अवसर पाउछन् तर पुरानो श्रमबजारमा रहेको बेरोजगार र अर्ध बेरोजगारलाई पनि हामीले सेवा वा पेशा रोजगारीमा ल्याउने हो भने हामीले अझै धेरै वर्ष कुर्नुपर्ने हुन्छ । त्यो बीचमा वैदेशिक रोजगारीको बाध्यात्मक स्थिति त्यसबाट सिर्जना हुन्छ । त्यो स्थीतिलाई अहिले नै हामीले भोलि बिहानैदेखि वैदेशिक रोजगारीमा जानेलाई अन्त्य गर्छौं, यो राम्रो होइन, हाम्रो युवा श्रम शक्ति विदेश गयो भनिरह्न्छौं भने एकै वर्षमा २० लाख भन्दा बढि रोजगारी सिर्जना गर्नुपर्नेहुन्छ । त्यो अहिले हामीले सक्दैनौं । यो कुरा हामीले रियलाइज गर्नुपर्छ ।’
खतिवडाका अनुसार अहिले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, सम्मानित बनाउने, प्रतिफल युक्त बनाउने, वैदेशिक रोजगारीबाट फर्केकालाई श्रमबजारमा फेरि आवद्ध गर्ने, उनीहरुले ल्याएको आर्जनलाई स्वरोजगारी र कामको अवसर सिर्जना गर्नेमा काममा लगाउन सक्नुपर्छ । श्रम मन्त्रालयले श्रम सम्झौताहरु गर्दा विदेशमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा ख्याल गर्नुपर्छ । नेपालमा रहँदा नेपाल सरकारले विदेशमा जाँदा त्यही रोजगारदाताले सामाजिक सुरक्षा दिने प्रत्याभुति गराएर वैदेशिक रोजगारीमा लैजाने अवस्थाको सिर्जना गर्नुपर्ने उनले बताए।
आगामी एक दशक रोजगार दशक मनाईरहँदा एकदकपछि वैदेशिक रोजगारीमा कोही पनि जानुनपर्ने हामीले सिर्जना गर्नुपर्ने बताउँदै खतविडाले त्यसका लागि केही सर्तहरु रहेको बताए।





