काठमाडौँ : अभद्र व्यवहार तथा लागु औषध मुद्दाका प्रतिवादी पेस्तोल र लागुऔषधसहित काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नं २ भाडगाउँस्थित मीरा तामाङको घरमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशीलाई प्रहरीले निजको कोठाबाट एक थान पेस्तोल, दुई थान म्यागजिन, १० राउण्ड गोली र २५० ग्राम लागु औषध पोल्याण्ड र ट्रामाडोल ५०० चक्की बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
निज जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती वस्तु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । प्रहरीले निजलाई बरामद हतियार र लागुऔषधसहित मंगलबार सार्वजनिक गरेको हो ।
उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उहाँले जानकारी दिए ।





